तामाङ कर्मचारी सञ्जालको परिचय :

जनसंख्याको दृष्टिकोणले नेपालको पाचौं ठूलो जातिय समुदाय (५.८१%) भए पनि राज्यको मुलधारमा आउन नसकेको तामाङ जातिका युवा समुदायलाई राष्ट्र सेवा प्रति आकृष्ट एवं सक्षम बनाई राज्यको सबै प्रशासनिक तहमा पहुँच अभिवृद्धि गर्नुका साथै विभिन्न सार्वजनिक सेवामा कार्यरत तामाङ कर्मचारीहरुबीच सहकार्य एवं समन्वय गराई उच्च मनोबलकासाथ सेवामा समर्पित गराउने वातावरण सृजना गर्न एकत्रित सञ्‍जालको अपरिहार्यता महशुस गरी संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा वि.सं. २०७३ चैत्र १७ गते दर्ता गरिएको तामाङ कर्मचारी सञ्‍जाल समस्त तामाङ समुदाय र तामाङ राष्ट्र सेवक कर्मचारीहरुको लागि कल्याणकारी सामाजिक संस्था हो ।

      यस सञ्जालमा करीब १०० (एक सय) जना विभिन्न सरकारी सेवाका कर्मचारीहरु आबद्ध भैसकेका छन् । हाल टेकराज स्याङ्तानको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति रहेको छ । साथै नेपाल सरकारका सहसचिव श्री रुद्र सिंह तामाङज्यूको संयोजकत्व रहेको एक सल्लाहकार समिति पनि रहेको छ । कोरोना भाइरस महामारी, कर्मचारीहरुको सरुवा एवं सञ्जालको जिम्मेवारी हस्तान्तरणका लागि विविध कारण समयै अधिवेशन, बैठक आदि बस्न नसकेकोले केहि बर्ष निष्कृय रहेको यो सञ्जाललाई २०७९ बैशाख १० गतेको विशेष अधिवेशनबाट पुनःगठन गरी अघि बढाइएको छ ।

      कार्यसमिति र पछिल्लो प्रथम विशेष अधिवेशनको निर्णय अनुसार सञ्जालमा आबद्ध कर्मचारीहरुले रु १००।– (एक सय) सञ्जालको खातामा जम्मा गरेपछि विधिवत रुपमा सञ्जालको सदस्य हुनुहुनेछ । बार्षिक रु १२००।– (बाह्र सय) नविकरण शुल्क लाग्नेछ । सञ्जालले यसै आर्थिक बर्ष २०७९।०८० देखि आबद्ध कर्मचारीहरुको क्षमता विकास तालिम र सेवा प्रवेश गर्ने योग्य र इच्छुक तामाङ विद्यार्थीहरुको लागि न्यूनतम शुल्क सहित लोकसेवा तयारी कक्षाहरु सञ्चालन गर्न गइरहेको छ ।नेपाल सरकार निजामती किताबखाना लगायत अन्य सरकारी किताबखानाहरुसंग समेत समन्वय गरी आगामी दिनमा एकीकृत कर्मचारी डाटाबेश समेत तयारी गर्ने लागेको छ ।

संस्थागत संरचना :

संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको यस तामाङ कर्मचारी सञ्‍जाल राष्ट्र सेवक तामाङ कर्मचारीहरुको मातृ संस्था हो । यो संस्था मुनाफारहित, गैर राजनीतिक, जनहितकारी विशुद्ध सामाजिक संस्था भएको हुँदा विधानमा उल्लेख भए बमोजिमको शर्त पुरा गर्ने सबै तामाङ कर्मचारीहरुले सदस्यता लिन पाउनेछन् र यसरी सदस्यता प्राप्त गरेको तामाङ कर्मचारीहरुको यस संस्थामा समान हैसियत रहन्छ । यस संस्थाको विधानमा उल्लेख भए बमोजिमको योग्यता भई सदस्य प्राप्त गरेका सम्पूर्ण सदस्यहरुको सभा अर्थात साधारण सभा नै संस्थाको सर्वौच्च अङ्ग हुने र उक्त साधारण सभाले दैनिक कार्य सञ्‍चालन तथा व्यवस्थपनका साथै संस्थाको उद्देश्य अनुसारको लक्ष्य हासिल गर्न तोकिए बमोजिम कार्य समिति तथा अन्य क्षेत्रगत समित गठन गर्न सक्ने व्यवस्था गरेको छ । यसरी कार्य समिति गठन गर्दा सकेसम्म सबै सेवा, समूह, क्षेत्र वा अन्य उपयुक्त आधार समेतलाई ध्यानमा राखी समावेशी बनाईनेछ ।