परिचय :

जनसंख्याको दृष्टिकोणले नेपालको पाचौं ठूलो जातिय समुदाय भए पनि राज्यको मुलधारमा आउन नसकेको तामाङ जातीका युवा समुदायलाई राष्ट्र सेवा प्रति आकृष्ट एवं सक्षम बनाई राज्यको सबै प्रशासनिक तहमा पहुँच अभिवृद्धि गर्नुका साथै कार्यरत तामाङ कर्मचारीहरु बीच सहकार्य एवं समन्वय गरी उच्च मनोबलकासाथ सेवामा समर्पित गराउने वातावरण सृजना गर्न एकत्रित सञ्‍जालको अपरिहार्यता महशुस गरी गठन गरिएको तामाङ कर्मचारी सञ्‍जालसमस्त तामाङ समुदाय र तामाङ राष्ट्र सेवक कर्मचारीहरुको लागि कल्याणकारी सामाजिक संस्था हो ।

सरकारी सेवामा तामाङ समुदायको प्रवेशको गतिसंगै रुद्र सिंह तामाङ, अस्मान तामाङ, लोक बहादुर लोप्चान, दिल कुमार तामाङ लगायतको पहल एवं अग्रसरतमा विभिन्न क्षेत्रमा कार्यरत तामाङ कर्मचारीहरुको भेला मिति २०७2 साल भदौं 13 गते आयोजन गरी उक्त भेलाबाट रुद्र सिंह तामाङको अध्यक्षतामा प्रस्तवित संस्थाको विधान तयारी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता गर्न 9 सदस्यीय तदर्थ समितिको गठन भएको थियो । उक्त समितिका पदाधिकारीहरु मध्ये केहीको उपत्यका बाहिर सरुवा र अन्यको कार्यजिम्मेवारी एवं व्यस्ता आदि कारणहरुले गर्दा साविकमा रहेको तदर्थ समितिको पुनर्गठन गर्ने उद्देश्यले मिति 2073 साल आश्विन 08 गते पुन: भेलाको आयोजन गरी उक्त भेलाबाट टेकराज स्याङतानले अध्यक्षता गर्ने गरी पुनर्गठन भएको थियो । त्यसरी पुनर्गठन भएको समितिले प्रस्तवित तामाङ कर्मचारी सञ्जालको विधान तयार गरी मिति 2073 साल फागुन 17 गते संस्था दर्ता गर्ने कार्य गरिसकेकोछ । उक्त कार्य समितिमा रहेका कर्मचारीहरुको सरुवा, कार्यरत कार्यालयको व्यस्त कार्य प्रकृति एवं जिम्मेवारी, प्रचार प्रसारको कमीका साथै पछिल्लो समयमा देखिएको कोरोना महामारीको लहर आदि कारणबाट संस्थाले अपेक्षित प्रगति नभएको जस्तो देखिए पनि संस्था दर्ता ऐन, २०३४ बमोजिम संस्था दर्ता (जिल्ला प्रशासन कार्यालय काठमाडौं), प्यानमा दर्ता, महानगरपालिकामा दर्ता तथा नविकरण र तामाङ राष्ट्र सेवक कर्मचारीहरुको डाटा वेस (एक्सल शिट) तयारी आदि उल्लेख्य कार्यहरु भएका छन् ।

आफ्नो पूर्व निर्धारित उद्देश्य अनुसार लक्ष्य हासिल गर्न यस सञ्‍जालले हेमराज तामाङ लगायत सबै तामाङ राष्ट्र सेवक कर्मचारीहरुको रचनात्मक भूमिका तथा सहयोग प्राप्त भैरहेको छ । सञ्जालको मूलभूत उद्देश्य राज्यका निकायहरुमा तामाङहरुको सहभागी हुन प्रेरित गर्ने, सरकारी सेवाहरुमा सहभागिता बढाउने, पहुँच र क्षमता अभिवृद्दि गर्न तालिम प्रशिक्षण लगायतका कार्यक्रमहरु संचालन गर्ने, समान उद्देश्य बोकेका संघ संस्थाहरुसंग आवश्यक समन्वय गरी पारस्परिक सहयोग बढाउने, कार्यरत तामाङ कर्मचारीहरुलाई उच्च मनोबलका साथ सेवामा समर्पित रहन हौसला अभिबृद्दि गर्ने र तामाङ कर्मचारीहरुलाई सेवा सञ्चालनमा भएको असहजता निराकरणका लागि आवश्यक सुझाव र सहयोग उपलब्ध गराउने रहेको छ ।